काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर ११८ रन बनाएको हो।
कर्णालीका गुल्सन झाले २५ रन बनाउँदा देव खनालले २४ रन जोडे। युनिस ठकुरी र जिसन मक्सुदले समान १२-१२ रन जोड्दा विलियम बोसिस्टोले १४ रन बनाएका थिए।
चाडविक वाल्टनले १२ रन जोडेका थिए भने बाँकी खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोहसिले समान २-२ विकेट लिएका थिए। यस्तै शेर मल्ल र हर्ष थाकरले एकएक विकेट लिन सफल भए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो।
पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ।
कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो।
कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ। पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ।
लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो।
कर्णाली बुधवार चितवन राइनोजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ।
बुधवार खेलेका रित गौतमको स्थानमा युनिश विक्रम सिंह ठकुरीले मौका पाएका छन्।


