काठमाडौँ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन्।
एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए। ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलको पहिलो संस्करणमा उपविजेता बनेको छ। कप्तान ऐरीले एनपिएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट बनाएका छन्।
एनपिएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्। उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन्। ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रनसमेत जोड्न सफल भए।
‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन्। उनले पाँच लाखको चेक प्राप्त गरे। जैबले एनपिएलमा सुदूरपश्चिमका लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए।
जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन्। एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्। मिलान्थाले एनपिएलमा कूल दुई सय ९३ रन बनाएका छन्।
यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन्। उनले दुई लाखको चेकसमेत प्राप्त गरेका छन्। निशमले जनकपुरका लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन्।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित ५० हजार रुपैयाँको चेक प्राप्त गरे। साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट दश लाख रुपैयाँ बराबरको छात्रवृृत्तिसमेत प्राप्त गरेका छन्। विपीनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन्। एनपिएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।


