एजेन्सी – प्रदर्शनकारीहरूले दक्षिण भारतीय (तेलुगु) अभिनेता अल्लु अर्जुनको जुबली हिल्सस्थित घरको परिसरमा तोडफोड गरेका छन्।
हैदराबाद प्रहरीले यस मामिलामा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिका केही सदस्यहरूलाई पक्राउ गरेको छ।
मिडिया रिपोर्टका अनुसार उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिका सदस्यहरूको समूहले आइतबार जुबली हिल्सस्थित अल्लु अर्जुनको घरबाहिर विरोध प्रदर्शन गरेको थियो। त्यस क्रममा केही प्रदर्शनकारीले पर्खाल चढेर परिसरभित्र पसेर फूलका भाँडा तथा अन्य सामान तोडफोड गरेका थिए।
त्यसपछि प्रहरी घटनास्थल पुगेर आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो। प्रदर्शनलाई ध्यानमा राख्दै अभिनेता अल्लुको घरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।
डिसेम्बर ४ मा अभिनेता अल्लु अर्जुन आफ्नो फिल्म ‘पुष्पा २’ को प्रिमियरमा सहभागी हुन हैदराबादको एक थिएटर पुगेका थिए। उनलाई हेर्न ठूलो भीड जम्मा भएको थियो। अर्जुनले आफ्नो गाडीको सनरुफबाट फ्यानलाई हात हल्लाएपछि स्थिति बिग्रिएको थियो।
जसमा रेवती नामकी महिलाको मृत्यु भएको थियो। घटनापछि अल्लु अर्जुनलाई पनि पक्राउ पनि गरिएको थियो। तर, उनले भोलिपल्टै जमानत पाएका थिए। तर केही मानिसले यस विषयमा अल्लु अर्जुनको विरोध गरिरहेका छन्।


