काठमाडौँ- नेपाल ओलम्पिक कमिटि (एनओसी)को उपाध्यक्षमा ७ जना निर्विरोध हुने भएका छन्।
७ उपाध्यक्ष पद भएको एनओसीमा ९ जनाको उम्मेदवारी परेको थियो। तर दुई जनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदमा सबै निर्विरोध हुने पक्का भएको हो।
वर्तमान उपाध्यक्ष तथा टेनिसकी ज्योति राणा, पौडीका अशोकरत्न बज्राचार्य, टेबल टेनिसका चतुरानन्द राजबैद्य, तेक्वान्दोका प्रकाशशमशेर राणा, हक्कीका अनिल शर्मा, कबर्ड्डीका तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुष्पदास श्रेष्ठ र साइक्लिङका गोपालसुन्दर लाल कक्षपति छन्। उम्मेदवारी फिर्ता लिनेमा दीपक हर्ष बज्राचार्य र तुलसा थापाले नाम फिर्ता लिएका हुन्। नाम फिर्ताका लागि ३ बजेसम्मको समय तोकिएको थियो।
अध्यक्ष पदमा भने तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले दाबेदारी दिएका हुन्। अध्यक्षबाहेकका सबै पद निर्विरोध बनेका छन्।
एनओसीको आगामी चार वर्षे कार्यकालको लागि आउने शनिबार निर्वाचन हुँदैछ।
यसपटक पदाधिकारीको संख्या बढाएर सदस्यको संख्या घटाइएको छ। उपाध्यक्षको संख्या ५ बाट बढाएर ७ बनाउँदा सदस्य संख्या ७ बाट ५ मा घटाइएको हो।
महासचिवमा राजीव श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो। यस्तै कोषाध्यक्षमा टासी घले र उपमहासचिवमा रामजीबहादुर श्रेष्ठको एकल उम्मेदवारी परेको छ। तीन सचिवका लागि रमेशप्रसाद शिवाकोटी, भीमसिंह गुरूङ र रामकृष्ण श्रेष्ठले नाम दर्ता गराएका छन्।
पाँचजना सदस्यमा गीता क्षत्री राणा, लाक्पा छिरिङ लामा, राम अवाले, मनीष जोशी र जितेन्द्रबहादुर चन्द छन्।


