शुक्रबार साँझपख काठमाडौँमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको र साँझपख काठमाडौँमा पनि वर्षा हुने सम्भावना देखिएको विभागले जानकारी दिएको हो।
विभागका अनुसार बागमती, कोशी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको विभागको भनाइ छ।
देशको पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
शुक्रबार दिनभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। अबका एक–दुई दिन देशभर मौसममा बदली हुने अनुमान गरिएको छ।


