सोल- दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ।
कोरियाली समाचार एजेन्सी योनहापले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मृत्यु हुनेहरूको संख्या १७७ पुगेको उल्लेख गरेको छ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको थियो।
स्थानीय समयअनुसार बिहान ९ बजेर ७ मिनेटमा जहाज विमानस्थलको रनवेबाट चिप्लिएर बारमा ठोक्किएपछि आगलागी भएको थियो
विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए।
दुर्घटनामा परेको जहाजबाट दुई जनालाई जीवितै उद्धार गरी मोक्पो अस्पतालमा भर्ना गरिएको छ।
राजधानी सोलबाट २८८ किलोमिटर टाढा पर्ने विमानस्थलमा जोजुको बोइङ ७३७–८०० विमानका यात्रीमध्ये १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए।
दुर्घटनास्थलमा ३२ वटा दमकल र १५०० भन्दा बढी आपत्कालीन कर्मी परिचालित गरिएको थियो। दुई जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोकले पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जेजू एयरले यो दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूप्रति समवेदना प्रकट गरेको छ।
दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको योनहापको समाचारमा उल्लेख छ।
यसअघि, सन् २००२ मा एयर चाइना को बोइङ ७६७-२०० विमान बुसानमा दुर्घटनाग्रस्त हुँदा १२९ जनाको मृत्यु भएको थियो।


