काठमाडौँ – खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले फेरि अर्को हार बेहोरेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोडमा न्युक्यासलसँग भएको खेलमा गएराति युनाइटेड २-० गोलअन्तरले पराजित भएको हो।
ओल्ड ट्राफोर्डमा सन् १९७२ पछि न्यु क्यासलसँग दोस्रो पटक युनाइटेड पराजित भएको हो।
सन् १९६२–६३ सिजनदेखि म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लगातार तीन खेलमा हार बेहोरेको थिएन। न्यु क्यासलका अलेक्ज्याण्डर इसकले चौथो मिनेट र जोएलिन्टनले १९ औं मिनेटमा गोल गरेका थिए। न्युक्यासलले जारी प्रिमियर लिगमा पछिल्ला चार खेलमा जित निकालेको छ।
पहिलो हाफमा २ गोल खाइसकेको युनाइटेडले एक गोल पनि फर्काउन सकेन। यस क्रममा उसले केही अवसर भने गुमाएको थियो।
जितसँगै लिगको पाँचौँ स्थानमा उक्लिएको न्युक्यासलले १९ खेलमा ९ जितसहित ३२ अंक जोडेको छ भने समान खेलमा २२ अंक रहेको युनाइटेड १४औँ स्थानबाट माथि उठ्न सकेन।


