काठमाडौं– दाङको देउखुरीमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु र २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेको दाङ प्रहरीले बताएको छ। दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएकामा १२ जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार बस दुर्घटना बिहान करिब पौने ७ बजे भएको हो।
गम्भीर घाइतेमध्ये सात जनालाई भैरहवा, तीन जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र दुई जनालाई नेपालगञ्ज रिफर गरिएको छ। अन्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।


