काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धरान उपमहानगरपालिकाका मेयर हर्क सापाङले जवाफ फर्काएका छन्।
यसअघि अख्तियारले प्रमुख सापाङलाई श्रम संस्कृति पार्कबारे पत्र पठाएको थियो। उनले ऐनविपरीत कुनै किसिमको योजना नगरिएको पत्रमार्फत जानकारी गराएका हुन्। फोहोरै फोहोर रहेको श्रम संस्कृति पार्कलाई बगैँचाको रूपमा परिणत गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा पनि उनले आफूले अख्तियारलाई पत्र लेखेको भन्दै जानकारी गराएका छन्। उनले पत्रमा लेखेका छन्, ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो। बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु ? जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन्। सरकारी पैसा प्रयोग भएको छैन। दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न। नेताले विदेश भ्रमणमा कति खाए, कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ।’
प्रमुख सापाङले धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भएदेखि खोला–खोली जोडेर धरानेलाई पानी खुवाएको उल्लेख गरेका छन्। उनले त्यो देखिनसहेर उजुरी हालेको बताए। उनले उजुरीलाई उजुरी, फुजुरी, भुजुरी भनी भिडियोमा बताएका छन्।



