पोखरा- कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन जेठ तेस्रो साता आयोजना हुने भएको छ। कोभिडका कारण तीन वर्ष रोकिएको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा हुन लागेको हो।
जेठ १७ सुरु भएर जेठ २० गतेसम्म चल्ने अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो संस्करण भएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ।
महोत्सवको तयारी तीव्र पारिएको र हालसम्म ८० प्रतिशत तयारी सकिएको महोत्सव संयोजक ललित गुरुङले जानकारी दिए। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिन अन्नपूर्ण आरोहण दिवसको अवसरमा पारेर महिला/पुरुष दुवै विधामा प्रतियोगिता आयोजना गरिने संयोजक ललित गुरुङले जानकारी दिए।
अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने कार्यक्रम छ।
अल्टिमेट एडभेञ्चर नेपालको मुख्य प्रायोजनामा हुने प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ। त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सव संयोजक गुरुङले जानकारी दिए।
महोत्सवको अवसरमा गाउँस्तरीय भलिबल, बास्केटबल, छेलो, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, घैंटो फुटाउने, म्यूजिकल चेयरलगायतका खेलकुद गतिविधि पनि हुनेछन्। भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक र प्रमाण पत्र प्रदान गरिने छ।
महोत्सवमा झाँकी प्रदर्शन, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, हर्स राईडिङ गर्दै पर्यटकीय गाउँ घान्द्रुकको अवलोकन, पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम हुने समेत गुरुङले बताए।
महोत्सवले पर्यटनमा छाएको मन्दीको संकट मोचन गर्ने अपेक्षा गरिएको स्थानिय समाजसेवी किसम गुरुङले बताए। ‘कोभिड र अहिले छाएको मन्दीले पर्यटन व्यवसाय आक्रान्त छ। यो महोत्सवले पर्यटनमा देखिएको संकट मोचन गर्ने विश्वास हाम्रो छ,’ उनले भने।


