काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।


