काठमाडौँ – हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्विर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाललाई आज अदालत पेस गरिने भएको छ।
कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए।
उनलाई प्रहरीले साइबर अपराधको असुरमा बिहीबार फेरि पक्राउ गरेको थियो। यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए।
पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि बिहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए।
‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’


