काठमाडौँ – आईसीसी यू-१९ महिला टी-२० विश्वकप आज (शनिबार) देखि मलेसियामा सुरु हुँदै छ। प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन्।
यस फर्म्याटको विश्वकपमा पहिलोपटक सहभागिता जनाइरहेको नेपालको महिला यू–टोलीले बङ्गलादेशको सामना गर्दै आज प्रतियोगिताको सुरूवात गर्नेछ।
नेपाल र बङ्गलादेशबीचको खेल बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा हुनेछ। यो खेल नेपाली समयअनुसार आज दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपालको कप्तानी पूजा महतोले तथा बङ्गलादेशको सुमैया अक्तरले गर्नेछन्।
नेपाल र बङ्गलादेशबीच गत डिसेम्बरमा भेट भएको थियो। मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल पराजित भएको थियो। यसर्थ आज नेपाल बङ्गलादेशसँग त्यही नतिजा उल्टाउन चाहन्छ।
गत वर्षको नोभेम्बरमा यूएईमा विश्वकपका लागि एसियाली छनोट भएको थियो। छनोट प्रतियोगितामा नेपालसहित ४ देशको सहभागिता रहेको थियो।
प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भएको थियो। तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल विश्वकपका लागि छनोट भएको थियो।
यू–१९ महिला विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलङ्का, आयोजक मलेसिया र वेस्ट इण्डिज छन्।
समूह ‘बी’मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’मा न्युजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्। समूह ‘डी’मा नेपालसहित स्कटल्याण्ड, बङ्गलादेश र अस्ट्रेलिया रहेका छन्।


