एजेन्सी – इजरायलको मन्त्रिपरिषद्ले शनिबार अर्थात् आज हमाससँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ।
टाइम्स अफ इजरायलका अनुसार यो युद्धविराम आइतबार अर्थात् भोलिदेखि लागू हुनेछ। इजरायली मन्त्रीहरूले सम्झौताको पक्षमा २४-८ मतले मतदान गरेका थिए।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै सरकारले बन्धक फिर्ता गर्ने योजनालाई स्वीकृत गरेको जनाएको छ।
यो सम्झौता ३ चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा हमासले इजरायलबाट अपहरण गरिएका ३३ बन्धकहरूलाई रिहा गर्नेछ।
साथै, इजरायली सेना गाजा सीमाबाट ७०० मिटर पछाडि हट्नेछ। इजरायलको न्याय मन्त्रालयले आइतबार रिहा हुने ९५ प्यालेस्टाइनी कैदीहरूको सूची जारी गरेको छ। जसमा ६९ महिला, १६ पुरुष र १० नाबालिग रहेका छन्।
इजरायलले ७०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको हो। यी व्यक्तिहरूको नामको सूची पनि जारी गरिएको छ। हमास र प्यालेस्टिनी इस्लामिक जिहादका सदस्यहरू समेत यस सूचीमा परेका धेरै व्यक्तिहरू हत्याको आरोपमा आजीवन काराबास काटिरहेका छन्।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा प्रवेश गरी १२ सय जनाको हत्या गरेको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो। त्यसको केही घण्टापछि इजरायली सेनाले गाजामा आक्रमण गरेको थियो।
जनवरी १५ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौता जनवरी १९ अर्थात् आइतबारबाट तीन चरणमा सुरु हुने बताएका थिए। यसमा ४२ दिनसम्म बन्धकहरू आदानप्रदान गरिने समाचारहरूमा जनाइएको छ।


