काठमाडौँ – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब यात्रा कायमै रहेको छ।
आइतबार राति सकिएको खेलमा युनाइटेड घरेलु मैदानमै ब्राइटनसँग ३-१ गोलअन्तरले स्तब्ध भयो। खेल सुरु भएको पाँचौँ मिनेटमै गोल खाएको युनाइटेडका लागि २३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेर बराबरी गरेका थिए।
पहिलो हाफ बराबरी गर्न सफल भए पनि युनाइटेडले दोस्रो हाफमा थप २ गोल खायो। ब्राइटनले ६० र ७६ औं मिनेटमा गोल गरेपछि युनाइटेड हार बेहोर्न बाध्य भयो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जारी सिजनमा छैटौँ हार हो। युनाइटेडले जारी सिजनमा २२ खेलमा जम्मा ७ खेलमा मात्र जित निकाल्न सकेको छ।
हारसँगै युनाइटेड १३ औं स्थानमै खुम्चिएको छ भने पछिल्ला पाँच खेलमा हार नबेहोरेको ब्राइटन नवौँ स्थानमा उक्लिएको छ।


