सिन्धुली- सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र रु एक लाख नगद वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए।
‘हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने ५ जनालाई रु एकएक लाख प्रोत्साहनस्वरुप प्रदान गरेका छौँ,’ छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै उनले भने।
पालिकाभित्र १२ कक्षासम्म पढाइ हुने दुई माध्यमिक विद्यालय छन्। ती विद्यालयमा अध्ययनरत एक सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए।
मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यकाल एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले गाउँपालिकाले गरेका १०१ कामको सूची सार्वजानिक गरेका थिए।









सबै तस्बिर : मरिण गाउँपालिका


