वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश सहयोग नियोग (यूएसएड)बाट झन्डै १० हजार कर्मचारी कटौती गर्ने भएका छन्। हाल यूएसएडमा १० हजारभन्दा बढी कर्मचारीहरू रहेकोमा र अब केवल २९४ जनालाई मात्रै काममा राख्ने निर्णय ट्रम्पले लिएका छन्।
अफ्रिका ब्युरोमा १२ जना र एसिया ब्युरोमा ८ जना मात्र कर्मचारी राख्ने तयारी ट्रम्पको रहेको रोयटर्सको समाचारमा उल्लेख छ। अमेरिकी खर्बपति एलन मस्कले कर्मचारी कटौतीको योजना बनाएका हुन्।
यूएसएडका पूर्व प्रमुख जे. ब्रायन एटवुडले ट्रम्प प्रशासनको यो निर्णयको कडा आलोचना गरेका छन्। यति ठूलो संख्यामा कर्मचारीलाई हटाउँदा विश्वभरका लाखौं मानिसहरूको जीवन खतरामा पर्न सक्ने उनको भनाइ छ।
ट्रम्प प्रशासनले यूएसएडलाई विदेश मन्त्रालयमा गाभ्ने योजना बनाएको छ। तर यो मर्जर अमेरिकी संसद् कांग्रेसले अनुमोदन गरेपछि मात्र सम्भव हुनेछ।
ट्रम्प प्रशासनको निर्णयले १३० देशमा सञ्चालनमा रहेको थुप्रै कार्यक्रम प्रभावित हुनेछन्। यूएसएडले प्रत्येक वर्ष लगभग ४० अर्ब डलर सहायता वितरण गर्दै आएको छ।
फेब्रुअरी ७ को मध्यरात १२ बजेदेखि युएस एडका कर्मचारी प्रशासनिक बिदामा हुनेछन्। चुनिएका केही कर्मचारी मात्र कार्यालयमा बोलाइनेछन्।
ट्रम्पको यो कदमलाई चुनौती दिँदै यूएसएडसम्बद्ध एक कर्मचारी संगठनले ट्रम्पविरुद्ध मुद्दा दायर गरेका छन्।


