धनगढी– धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट’ को उपाधि सीवाईसी अत्तरियाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो।
उपाधिसँगै अत्तरियाले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता डडेल्धुराले पाँच लाख पुरस्कार पायो। जितका लागि ११९ रनको लक्ष्य पाए पनि डडेल्धुराले ८४ रन मात्र बनायो। डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाए।
बलिङतर्फ अत्तरियाका लागि शाहव आलम र दिपेश कँडेलले तीन–तीन तथा कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा ११८ रन बनायो। उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शंकर रानाले २० रन बनाए।
बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिए। प्रतियोगितामा आठ टोली सहभागी थिए।


