काठमाडौँ- सडकमा रहेको पाइप फुटेपछि बबरमहल क्षेत्र बुधबार डुबानमा परेको छ।
काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेपछि त्यहाँका कर्मचारी र सर्वसाधारणलाई उद्धार गर्नुपरेको थियो भने कागजातहरू सुरक्षित स्थानमा सारिएको थियो।
बाढीबाट वन परिसर पछाडिको बस्ती पनि डुबानमा परेको छ। पानीको उचित निकास नहुँदा पाइपबाट आएको पानीले नै बस्ती डुबानमा परेको हो।
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन्।
‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो। विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम गर्यो। त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ।’














