काठमाडौँ- काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझदेखि डढेलो सुरु भएको तर नियन्त्रणमा लिन नसकिएको बताए।
डढेलो निभाउने प्रयास जारी छ। हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बस्नेतको भनाइ छ। अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन्।
‘हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ,’ उनले भने।
सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना तत्कालका लागि टरेको छ। वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको थियो।


















