काठमाडौँ- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत जारी लेबनानविरुद्धको खेलमा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले गोल गरेकी छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे सुरु भएको खेलको ४२औँ मिनेटमा साम्बाले गोल गरेकी हुन्।
दुवै टिमले जारी लिगको दोस्रो खेल खेलिरहेका छन्।
नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बाले गोलपोस्ट तथा कप्तान जिम्मेवारीमा रहदा डिफेन्डरमा समिक्षासहित गीता राना , पूजा राना र विमला विक छन्।
मिडफिल्डमा प्रिति राई, रेनुका नगरकोटी र विमला चौधरी छन्। फरवार्डमा साम्बासहित सविता रानामगर र रेखा पौडेलले खेल्दैछन्।
यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ।
म्यानमारले ५-० गोल अन्तरले कीर्गिस्तानलाई हराएर एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ।
अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दोस्रो हाफमा मात्र खेलेकी थिइन्। साम्बाले फ्रान्सबाट सोमबार बिहान आइपुगेर साँझ किर्गिस्तानसँग खेलेकी थिइन्।

















