काठमाडौँ – बाराबाट जन्ती लिएर उदयपुर जाँदै गरेको बस र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २६ जना घाइते भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीदहस्थित मदन भण्डारी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदपयुरले जनाएको छ ।
बागमती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत्ता लिएर कटारी जाँदै गरेको ना ८ख २४०४ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएको हो ।
मृत्यु हुनेमा बाराको गढी गाउँपालिका– ४ का ७० वर्षीय सीताराम धामी छन् । दुर्घटनापछि गम्भीर घाइते भएका धामीको न्युरो अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले जानकारी दिए ।
अन्य २६ घाइतेमध्ये सामान्य उपचारपश्चात २० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुईको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका तीन जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।


