काठमाडौँ – च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणमा प्रतियोगिताको सबैभन्दा रोमाञ्चक आशा गरिएको भारत र पाकिस्तानबीच खेल हुँदैछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो ।
पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो । पाकिस्तानले आज हारे नकआउट चरणबाट लगभग बाहिरिने छ ।
पछिल्लो पटक २०१७ को च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानका टोली दुई पटक आमनेसामने भएका थिए । समूह चरणमा भारत विजयी भएको थियो भने फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनले पराजित गर्दै बराबरी गरेको थियो ।
भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३५ ओडीआई खेलिएको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । ५ खेलमा नतिजा आएको छैन ।
दुवै टोली च्याम्पियन्स ट्रफीमा ५ पटक आमनेसामने भएका छन् । जसमा पाकिस्तानले ३ पटक र भारत २ पटक जितेको छ । यसमा अघिल्लो फाइनल पनि समावेश छ। जसमा पाकिस्तान विजयी भएको थियो ।


