काठमाडौँ – अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ।
खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आआफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। त्यसैले आजको खेल फाइनलझैँ हुने अपेक्षा गरिएको छ।
नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो भने म्यानमारले कीर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले हराएको थियो। प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ मा हुनेछ।
म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्नेमध्ये सबैभन्दा उच्च वरीयताको टोली र उपाधिको प्रबल दाबेदार हो। म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५ औँ स्थानमा छ।
म्यानमारले पाँच पटक एएफसी महिला एसियन कप खेलिसकेको छ । म्यानमारले सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कपको पछिल्लो संस्करणमा प्रतिस्पर्धा गरेको थियो।
म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन। नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ। जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ।
सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो। त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो।


