काठमाडौँ – ला लिगामा गएराति लास पालमासविरुद्ध २-० जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ।
पालमासविरुद्ध उसकै मैदानमा बार्सिलोनाले जित निकाल्न भने दोस्रो हाफ पर्खिनुपर्यो। ६२ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै १ गोलको अग्रता दिलाएका थिए भने निर्धारितपछि थपिएको समयमा फेरान टोरेसले अर्को गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।
जितसँगै बार्सिलोनाले २५ खेलबाट ५४ अंक बनाएको छ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३-० गोलअन्तरले हराएको छ। पाहुना टोली एट्लेटिकोका लागि अल्भारेजले खेलको १२ औं र ३० औं मिनेटमा गोल गरे भने अर्को गोल ८६ औं मिनेटमा एन्जेल कोरेराले गरे।
जितसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ। समान २५ खेलबाट उसको बार्सिलोनाभन्दा एक अंक कम छ।
यी दुई टोलीभन्दा एक खेल कम खेलेको रियल मड्रिडको भने ५१ अंक छ। रियलले आज राति गिरोनासँग आफ्नै मैदानमा खेल्दै छ।


