इलाम – इलामको जस्वीरेस्थित चिया प्रशोधन उद्योगमा मंगलबार राति आगलागी हुँदा उद्योग पूरै जलेर ध्वस्त भएको छ ।
राति करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको स्थानीयले जनाएका छन्।
आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेसिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ ।
आगो नियन्त्रणका लागि स्थानीय बासी र प्रहरीले प्रयास गरिरहेका थिए। इलाम नगरपालिकाबाट दमकल पुगे पनि भौतिक संरचना सबै क्षति भइसकेको स्थानीयबासी सटेन्द्र जबेगूले बताए। उनका अनुसार विद्युत् सर्ट भएर आगो शुरु भएको हुन सक्ने अनुमान गरिएको छ ।
नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दश वर्षयता यो उद्योग सञ्चालन गर्दै आएका थिए।
ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पललगायत ३५ बढी प्रकारका चिया तयार गरेर शरदले तेस्रो मुलुक निर्यात गर्दै आएका थिए। काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित भएका शरदको यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो ।


