काठमाडौँ- एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा नेपाले सुखद् सुरुवात गरेको छ। सोमबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा किर्गिस्तानलाई पराजित गर्दै विजयी बनेको हो।
खेलको पहिलो सेटको सुरुवातमा ७-६ ले अग्रता बनाएको नेपालले १२-७, १७-११ र २३-११ ले अघि रहँदै २५-११ को जित निकालेको हो। पहिलो सेटमा नेपालले ४ पटक सर्भिसमै गल्ती गर्न पुगेको थियो। तर नेपालकी सबैभन्दा प्रभावशाली स्पाइकर सरस्वती चौधरीलाई प्रशिक्षक जोन डी ब्रान्टले खेलमा समावेश गराएका थिएनन्।
दोस्रो सेटमा पनि सुरुबाटै नेपालले अग्रता बनाएको थियो। तर पहिले सेटको तुलनामा यो केही थप प्रतिस्पर्धात्मक रह्यो। यद्यपि कीर्गिस्तानले केही ‘सिल्ली’ गल्ती गरेको र स्पाइकमा प्रभाव बनाउन सकेन। यसकारण नेपालले सुरुमा ९-६ अग्रता बनायो। कीर्गिस्तानले ब्याककोर्टबाट गरेका प्रयास सफल बन्न सकेनन्।
पाहुना टिमविरुद्ध संगम महतोले निकै राम्रो ब्लक गरिन्। यससँगै नेपाल १४-९ ले अगाडि रह्यो। कीर्गिस्तानले १५-१२ बनाएर पुनरागमन प्रयास गरे पनि नेपालले उसलाई दबाबमा राखिरह्यो। अन्तिममा २१-१५ हुँदै नेपालले २५-१९ को जित निकाल्यो।
उषा भण्डारीको स्पाइकबाट अंक बटुल्न सुरु गरेको लोकल आयोजकले सुरुमा ३-३ को बराबरीबाट पछि परेको थियो। खेलमा नेपाल पहिलो पटक पछि परेको हो। पाहुना टिमले ४-६ को अग्रता नेपालले तुरुन्तै उल्ट्यायो। ओपन स्पाइकर निरुता ठगुन्ना र उषा जमेपछी नेपालले १५-६ सम्म लगातार अंक ल्याएको थियो। यसरी नेपालले लगातार ११ अंक बटुल्यो। १९-१० बाट अगाडि बढेको नेपालले २५-११ मा खेल सकेको हो।
सोझो सेटको जितसँगै नेपालले समूह ए मा तीन अंक बटुलेको छ। यो समूहमा नेपालसँगै भारतको पनि समान ३ अंक रहेको छ।


