वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटीक्लबले जनाएको छ ।
आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठ वटा फुटबल टोली मैदानमा उत्रने भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले जानकारी दिए।
प्रतियोगितामा ए डिभिजन लिग खेल्ने सङ्कटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब बागमती युथ क्लब र वीरगञ्ज युनाइटेड स्पर्धा गर्दै छन् । गोल्डकप मधेश प्रदेशकै सबैभन्दा ठूलो राशि हो।
प्रतियोगितामा प्रथम हुनेलाई पदक एवं प्रमाणपत्रका साथ नगद रु ११ लाख ११ हजार एक सय ११, उपविजेता टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड भिड्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रुपमा नेपाल पुलिस क्लब र उपविजेताको रुपमा नेपाल आर्मी क्लब भएको थियो ।


