काठमाडौँ- प्रतिनिधि सभाले बुधवार स्वीकृत गरेका ५ वटै अध्यादेश राष्ट्रिय सभाले पनि स्वीकृत गरेको छ। पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशसहित ५ वटा अध्यादेश बिहीवार राष्ट्रिय सभाको बैठकमा बहुमतले स्वीकृत भएका हुन्।
राष्ट्रिय सभाबाट स्वीकृत हुनेमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि छन्।
राष्ट्रिय सभाबाट समेत स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। भूमि अध्यादेश रोकेपछि अरु अध्यादेशमा समर्थन गर्न सकिने जसपा नेपालले संकेत गरेपछि दुवै सदनबाट अध्यादेशहरू पारित भएका हुन्।
सरकारलाई समर्थन गरिरहेको दल जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन गर्न नसक्ने बताएपछि त्यसलाई होल्ड गरेर बाँकी अध्यादेश अघि बढाइएको हो।


