काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डिन कार्यालयमा तोडफोड गर्नेमाथि कारवाही गर्न माग गरेको छ।
विश्वविद्यालयले शनिवार विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डिनको कार्यकक्षमा तोडफोड गर्नेमाथि कारवाही गर्न सरकार र गृह मन्त्रालयलाई माग गरेको हो।
त्रिवि सूचना अधिकारी शान्ताकुमारी नेउपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा तोडफोड गर्नेमाथि कारवाही माग गरिएको हो।
विश्वविद्यालय आफ्नो उद्देश्य अनुसार काम गर्दा कुनै कमी कमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
शुक्रबार कार्यालय समयमा नियमित विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरुलाई आतङ्कित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको विश्वविद्यालयको ठहर रहेको छ।
सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको विश्वविद्यालयले स्पष्ट पारेको छ।
कुनै माग वा समस्या भए त्रिभुवन विश्वविद्यालय वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सदैव तयार विज्ञप्तीमा उल्लेख गरिएको छ।
यी दुवै स्थानमा नेविसंघले तोडफोड गरेको आरोप लागेको छ।



