काठमाडौँ– अमेरिकाको कोलोराडोस्थित डेन्बरमा ‘ट्राभल एण्ड एड्भेन्चर शो-२०२५’मा नेपालको पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गरेको छ। नेपालको साहिसिक पर्यटनलाई विश्वसमुदायमाझ पुर्याउन बोर्डले दिएको प्रस्तुतिमा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’का रूपमा चित्रित गरिएको हो।
यही मार्च ८-९ मा सम्पन्न शोमा बोर्डले एक विशेष कार्यक्रम साहसिक पर्यटनका लागि नेपाल सुरक्षित गन्तव्य भएको उल्लेख गरिएको थियो। बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारीले नेपालको पर्यटकीय क्षेत्र विविधीकरणमा आधारित रहेको भन्दै अमेरिकी पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गराउने कार्यक्रम ल्याउन आग्रह गरे।
बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधारशिविरसम्मको पदयात्रा नि:शुल्क गराउने भएको छ। उक्त चिठ्ठा अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छन्। उनको नेपाल भ्रमणमा लाग्ने खर्च बोर्डले व्यवहोर्ने छ।
‘ट्राभल एन्ड एड्भेन्चर शो-२०२५’को वेबसाइट अनुसार नेपाललाई साहसिक यात्रीका लागि अनुपम अनुभव प्रदान गर्ने लेखिएको छ। जसमा भनिएको छ, ‘विश्वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन्। यसकारण पनि नेपाल ‘पर्वतारोहीको लागि उत्कृष्ट’ गन्तव्य हो। अद्भुत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरुका लागि अनुपम अनुभव प्रदान गर्दछ।’

नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप-लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरुले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ।
कोरोना महामारीपछि नेपालमा पर्यटकहरु भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले संसारका विभिन्न मुलुकहरुमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यकीय गतिविधिहरुमा तीव्रता दिइरहेको छ। ‘ट्राभल एण्ड एड्भेन्चर शो-२०२५’ मा नेपालका ९ वटा निजी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो। नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।


