काठमाडौँ- राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरुले चैत १५ गतेदेखि आन्दोलन थाल्ने भएका छन्।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समिति’ले बिहीबार चाबहिलमा पत्रकार सम्मेलन गरी चैत २१ गतेदेखि आन्दोलन चर्काउने निर्णय भएको जानकारी दिएको हो।
राष्ट्रिय राजनीतिलाई निषेधको दुश्चक्रबाट बाहिर निकाल्नका लागि राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई साथ दिन उसको आह्वान पनि छ।
समितिले डा. जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति बनाइने भनेको छ। यस्तै, धवल शमशेर राणाको संयोजकत्व ‘आन्दोलन परिचालन समिति’ बनाइएको छ। समितिमा हाल देशभर १ हजार १११ सदस्य छन्।
नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिइएको छ। प्रसाईको नेतृत्वमा शुक्रबार (चैत १५ गते)देखि सुरू हुने गरी घोषणा गरिएको आन्दोलनलाई समितिले अपनत्व लिएको समितिको भनाइ छ।
समितिका अनुसार चैत १६ गते घोडेजात्रा परेकोले कुनै आन्दोलनका कार्यक्रम नरहेको र १७ गतेदेखि निरन्तर आन्दोलनका कार्यक्रम हुनेछन्। आफूहरूको आन्दोलनलाई सरकारले बेवास्ता गरे चैत २१ गतेदेखि आन्दोलन चर्काउने समितिले चेतावनी दिएको छ।
‘सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सिर्जित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने छ,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आन्दोलनको उद्देश्य ‘संवैधानिक राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दू अधिराज्यको पुनःस्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन’ रहेको समितिले जनाएको छ।


