काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा रवि लामिछानेले अध्यक्षता ग्रहण गरेका छन्। सोमबारको बैठकमा पार्टी सभापति रवि लामिछानेलाई पार्टीको सभापतिका रूपमा जिम्मेवारी बहन गर्ने प्रस्ताव पारित भएसँगै रवि पार्टीको जिम्मेवारीमा फर्किएका हुन्।
करिब ५ महिनापछि रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका हुन्। सहकारी ठगीको आरोपमा ४ वटा जिल्ला अदालतमा मुद्दा सामना गरिरहेका उनलाई कात्तिक २ गते पक्राउ गरिएको थियो।
पुस ८ गते बसेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यसयता अर्यालले नै पार्टी बैठकहरूपमा अध्यक्षता ग्रहण गर्दै आएका थिए।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पहिलो विशेष बैठकपछि दोस्रो बैठकमा सभापति रवि लामिछानेले बैठकको अध्यक्षता गरेका हुन्।
मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठक उपसभापति अर्यालको अध्यक्षतामा भएको थियो। शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो।
सरकारले रवि लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पर्सामा अनुसन्धान जारी रहेकाले त्यहाँ मुद्दा दायर गरिएको छैन।
अदालतहरूले जम्मा दुई करोड ७९ लाख धरौटीमा उनलाई छोड्ने आदेश दिएका छन्।


