काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आश्वासन दिई ठगी गरेको अभियोगमा ४ कसुरमा मुद्दा चलाउन माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदातलमा दर्ता गरेको अभियोगपत्रमा चार कसुरमा मुद्दा चलाउन माग गरिएको हो।
संगठित अपराध, ठगी, राज्यविरुद्धको कसुर र कीर्ते गरी चार कसुरमा मुद्दा चलाउन माग गर्दै मुद्दा दर्ता गराइएको हो। चार कसुरको उद्देश्य एकै भएकाले यसलाई एकीकृत सजाय गर्न माग गरिएको छ। ३० जनाविरुद्ध दायर मुद्दामा २८ करोठ ८१ लाख ठगी गरेको भन्दै बिगो असुली गर्दै थप सजाय गर्न माग गरिएको छ।
एकीकृत कसुरमा मुद्दा चलाउँदा सबैभन्दा बढी सजाय हुने मुद्दा र त्यसपछि बढी हुने सजायको आधा सजाय गर्नुपर्ने कानुनी व्यवस्था छ। चार कसुरमध्ये सबैभन्दा ठगी र कीर्तेमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ। त्यसपछि राज्यविरुद्धको कसुर र संगठित अपराध छन्। यी दुवै कसुरमा ५ वर्ष कैद र ५० हजार जरिमाना गर्ने व्यवस्था छ। त्यसको आधा अढाई वर्ष र २५ हजार रुपैयाँ हुन्छ। यसर्थ यो मुद्दामा आरोप प्रमाणित भएको फैसला भए साढे ९ वर्ष कैद र ९५ हजार जरिमाना हुनेछ।
यो प्रकरणमा हालसम्म केशव दुलाल, सानु भण्डारी,टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल,शमशेर मिया, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।
रायमाझी, खाण, पाण्डे, रिजाल, इन्द्रजित राई र शमशेर मियाँ सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनीहरूलाई राष्ट्रहितविपरीत कसुर गरेको अभियोगमा थप तीन वर्षसम्म कैद गर्न पनि सरकारी वकिलको माग छ।


