काठमाडौँ- काठमाडौँका मेयर बालेन्द्र शाहले र संघीय सरकारबीचको मनमुटावको चपेटामा काठमाडौँ टावर परेको छ।
टावर निर्माणमा भ्रष्टाचार भएको र त्यसमा संघीय सरकारको समेत संलग्नता रहेको आशंका व्यक्त गरेपछि त्यसको मारमा काठमाडौँ भ्यु टावर परेको हो।
मेयर बालेनको सचिवालयले काठमाडौं भ्यू-टावर भत्काउने तयारी भइरहेको कुरा सञ्चार माध्यममा प्रवाह गर्न थालेको छ। तर काठमाडौं महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन।
वि.सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यु टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० बर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन।
भ्यू टावरको १२औं तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बनाउँदा भवनलाई अलपत्र अवस्थामा छाडेको हो।
उक्त टावर २३ रोपनी पाँच आना जग्गामा निर्माणाधीन अवस्थामा छ। व्यवसायिक उक्त टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, रेष्टुरेन्ट, बैंक आदि बन्ने भनिएको छ।


