काठमाडौँ- विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूले इलाम भ्रमण गरेका छन्।
इलामको प्राकृतिक र संस्कृतिक सौन्दर्यका साथै पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरूलाई इलाम भ्रमणको व्यवस्था मिलाइएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
बोर्डका अनुसार कूटनीतिक प्रतिनिधिहरूलाई इलाम भ्रणम गराउन परराष्ट्र मन्त्रालयले समन्वय गरेको छ। भ्रमणले इलामलाई पर्यटन गन्तव्यका रूपमा अझ प्रवर्द्धन गर्न सहयोग गर्ने बोर्डको भनाइ छ।
भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी छन्। भ्रमणमा गएका पाहुनाहरू इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधतामा रमाएका थिए।
भ्रमणले इलामको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्न सहयोग गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए।
अप्रिल १३ मा काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै कूटनीतिक प्रतिनिधिहरू इलाम पुगेका थिए। इलामको कन्याम पुगेको प्रतिनिधिमण्डललाई कान्याम नगरपालिकाले स्वागत गरेको थियो।
कन्याममा पाहुनाले सांस्कृतिक नृत्य, लोकसंगीत, चिया बगान घुम्ने/चिया टिप्ने र हर्स राइडिङमा झुमेका कूटनीतिक प्रतिनिधिहरूको टोलीले स्थानीय सत्कार ग्रहण गरी श्रीअन्तुतर्फ प्रस्थान गरेको थियो।
कूटनीतिक प्रतिनिधिहरूले अप्रिल १४ मा श्रीअन्तुबाट सूर्योदयको दृश्य अवलोकन गरे। अन्तु पोखरीमा माछा मार्ने र डुंगा सयर गर्ने गतिविधि भयो। त्यस्तै चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रम समेत आयोजना गरिएको थियो।
स्थानीय उत्पादन चिज टेस्टिङ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरु सहभागी भएका थिए। उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखमा इलामबाट प्रस्थान गरी भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फर्किएको छ।


