विश्वकै सबैभन्दा ‘गरिब राष्ट्रपति’ भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको निधन भएको छ। ‘पेपे’ उपनाम पनि चिनिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको हो। उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए। अतिसाधारण जीवनशैलीका कारण उनलाई विश्वकै ‘गरिब राष्ट्रपति’ भन्ने गरिएको थियो।
वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा पोस्ट गर्दै आफ्ना पूर्ववर्तीको निधनको पुष्टि गरेका छन्। ‘तपाईंले हामीलाई दिनुभएको सबै कुरा र आफ्नो जनताप्रतिको गहिरो प्रेमका लागि धन्यवाद,’ उनले लेखेका छन्।
मुजिका घाँटीको क्यान्सरबाट पीडित थिए। राष्ट्रपतिको रूपमा उनले अपनाएको सरल जीवनशैली, उपभोक्तावादको आलोचना, र उनले प्रवर्द्धन गरेका सामाजिक सुधारहरूले उनलाई ल्याटिन अमेरिका र बाहिर पनि एक प्रसिद्ध राजनीतिक व्यक्तित्व बनाएको हो। उनको शासनकालमा मनोरञ्जन क्षेत्रमा भाङको प्रयोगलाई वैध बनाइएको थियो।
युवावस्थामा मुजिका उरुग्वेको परम्परागत राजनीतिक शक्ति नेशनल पार्टीका सदस्य बनेका थिए। सन् १९६० को दशकमा उनले टुपागारोस नेशनल लिबरेशन मुभमेन्ट स्थापना गर्न मद्दत गरे। यो समूह वामपन्थी सिद्धान्तको तर व्यवहारमा भने सहरी छापामार थियो। आक्रमण, अपहरण र हत्याका काम यो समूहको मुख्य धन्दा थियो।
क्यूबा क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादबाट प्रभावित मुजिकाको मुभमेन्टले उरुग्वे सरकारविरुद्ध गोप्य प्रतिरोध अभियान चलाएको थियो। त्यो बेला मुजिका चार पटक पक्राउ परे। सन् १९७० मा उनीसहित ६ गोली लागेको थियो। उनी दुई पटक त जेलबाट भागेका पनि थिए। एक पटक एउटा सुरुङ हुँदै मुभमेन्टकै १०५ जनासहित उनी भागेका थिए। उरुग्वेको जेल इतिहासमा ठूलो पलायनमध्ये यो एक हो।
सन् १९७३ मा जब उरुग्वेको सेनाले कू गर्यो। उनी १४ वर्षभन्दा बढी समय जेलमा बसे। सन् १९८५ मा उरुग्वेमा प्रजातन्त्र फिर्ता भएपछि रिहा भएपछि उनले जेलमा बस्दा आफूले पागलपनको अनुभव गर्न परेको बताउका थिए। यतिसम्म कि उनले कमिलाहरूसँग बात मारेको बताएका थिए।
तर रिहा भएपछि आफू औधि खुसी भएको उनले बताउने गरेका थिए। राष्ट्रपति बनेपछि उनले आफूलाई सबैभन्दा बढी खुसी त्यही बेला लागेको बताएका थिए। ‘त्यो दिनको तुलनामा राष्ट्रपति बनेको दिनको तुलना हुन सक्दैन। राष्ट्रपति बनेको दिनको खुशी नगण्य हो,’ उनले भनेका थिए।
सन् २००५ मा उनी उरुग्वेको वामपन्थी गठबन्धन, फ्रेन्टे एम्प्लियोको सरकारमा मन्त्री बने। त्यसपछि सन् २०१० मा उरुग्वेको राष्ट्रपति बनेका थिए। त्यसबेला उनी ७४ वर्षका थिए।
उनको कार्यकालमा गर्भपतनलाई वैधानिक बनाउनु, समलिङ्गी विवाहलाई मान्यता दिनु र भाङ बजारको राज्य नियमनले उरुग्वेले विश्वव्यापी ध्यान खिचेको थियो। पदमा रहँदा, मुजिकाले राष्ट्रपतिको निवासमा सर्न अस्वीकार गरेका थिए। बरु, उनी पत्नी- राजनीतिज्ञ र पूर्व छापामार लुसिया टोपोलान्स्कीसँग मोन्टेभिडियोको बाहिरी भागमा रहेको आफ्नो साधारण घरमा बसे। उनी प्राय अनौपचारिक पोशाकमा भेटिन्थे। हल्का नीलो १९८७ भोक्सवागन बीटल चलाउने उनले आफ्नो तलबको ठूलो हिस्सा दान गरे। यसै कारण मिडिया आउटलेटहरूले उनलाई “विश्वको सबैभन्दा गरिब राष्ट्रपति” भनेर नाम दिए। तर मुजिकाले सधैं यो उपाधि अस्वीकार गरिरहे। सन् २०१२ मा आफ्नो घरमा दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘उनीहरू भन्छन् म सबैभन्दा गरिब राष्ट्रपति हुँ। होइन, म हुँदै होइन। गरीब ता ती हुन् जसले बढी चाहन्छन्। किनभने तिनीहरू अनन्त दौडमा छन्।’
मुजिका आफूले मितव्ययिताको प्रचार गरे पनि उनको सरकारले सार्वजनिक खर्चमा उल्लेखनीय वृद्धि गर्यो। जसले गर्दा वित्तीय घाटा बढ्यो र उनका विरोधीहरूले उनलाई अपव्ययको आरोप पनि लगाएका थिए। शिक्षालाई आफ्नो प्रशासनको उच्च प्राथमिकता बनाउने वाचा गरे पनि उनले उरुग्वेको शिक्षामा बढ्दो समस्याहरूलाई उल्टाउन असफल भएकोमा भन्दै आलोचना भयो। यद्यपि, यस क्षेत्रका अन्य नेताहरू भन्दा फरक, उनलाई भ्रष्टाचार वा आफ्नो देशको प्रजातन्त्रलाई कमजोर पारेको आरोप लागेन।
राष्ट्रपति पदबाट हटेपछि उनले विश्वभर यात्रा गरे। मुजिकाले सन् २०२० मा राजनीतिबाट सन्यास लिए। उनका राजनीतिक उत्तराधिकारी यामान्दु ओर्सी नोभेम्बर २०२४ मा उरुग्वेको राष्ट्रपति निर्वाचित भए।
गत वर्ष, मुजिकाले आफूलाई क्यान्सर रोग लागेको घोषणा गरेका थिए। गत वर्ष नोभेम्बरमा बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मृत्यु अपरिहार्य छ भन्ने कुरा थाहा छ। र यो महत्वपूर्ण पनि छ, शायद नुनजस्तै।’ उनको सादगी जीवनशैलीका कारण उनी सम्झनामा रहिरहने विश्वास उनको निकटस्थहरू बताउँछन्। -बीबीसीबाट


