झापा- घरेलु हतियारको प्रयोग गरी विगत १० महिनाको अवधिमा झापामा १२ जनाको हत्या भएको भएको छ। गत साउनदेखि वैशाखसम्मा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँच जना महिला श्रीमानबाटै मारिएका छन्। सामान्य घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए।
हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको छ। ‘आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुनअनुसारको सजाय भोगिरहेका छन्,’ उनले भने।
जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारी लगायतबाट भएको बताए। घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शङ्का, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड/रक्सी र लागुऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको उनको भनाइ छ।


