काठमाडौँ- नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सके लाखौँ भारतीय नागरिकहरू धार्मिक पर्यटकका रूपमा नेपाल आउने बताएका छन्।
महोत्तरीको जलेश्वरमा शनिबार आयोजित ‘महोत्तरी महात्म एक दिवसीय वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद-विचार उत्सव’मा उनले धार्मिक पर्यटन प्रवद्र्धनका लागि जनकपुर र अयोध्यालाई जोड्नुपर्ने बताए।
‘हामीले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सक्यौँ, रेल चलाउन सक्यौँ भने लाखौँ भारतीयहरू प्रति वर्ष नेपाल आउँछन्,’ नेता साउदले भने, ‘यो पनि धेरै ठूलो कुरा हुन्छ। पशुपति जान्छन् धेरै ठूलो कुरा हुन्छ। त्यस कारण यो ठाउँको धेरै ठूलो महत्व छ।’
नेपाल–भारत मैत्री युवा संघ तथा संवाद फाउन्डेसनद्वारा संयुक्त रुपमा आयोजित एक दिवसीय उत्सवमा उनले पौराणिक पात्र राम–सीता कुनै एउटा भूगोल र धर्मका मात्र नभएका पनि बताए।
‘सीता माता–भगवान राम भनेका एउटा भूगोल, एउटा धर्मका मात्र होइनन्। उनीहरू पुरूषोत्तम हुन्, सम्पूर्ण मानवताका हुन्, मानवताको मुक्तिका संवाहक हुन्,’ नेता साउदले भने।
पूर्वपरराष्ट्रमन्त्री साउदले पुरूषोत्तम रामले आफ्ना बुवाको आदेशलाई खुशी साथ स्वीकार गरेर १४ वर्ष बनबास जान तयार प्रसंग पनि स्मरण गरे।
‘आफ्नी श्रीमती, अर्काकी श्रीमतीलाई कसैले बलपूर्वक खोसेर लग्यो भने महिला सम्मानका लागि, इज्जतका लागि, प्रतिष्ठाका लागि युद्ध हुन सक्छ र युद्ध लडेर पनि प्रतिष्ठाको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता भगवान रामले स्थापित गरे,’ उनले महाभारत स्मरण गर्दै भने।


