काठमाडौँ– नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।
शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो।
नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो।
हङकङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो। तर हङकङ १ जितमै सीमित भएको हो।
९ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका ३-३ टोलीबाट शीर्ष टोली सुपर थ्रीमा पुगेका छन्। त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन्।
नेपालले अब सुपर ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ।


