काठमाडौँ- चोभारस्थित सुक्खा बन्दरगाहमा सयौंको सङख्यामा विद्युतीय गाडी भन्सार जाँचपासका लागि आइपुगेका छन्।
विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा यहाँ आइपुगेका हुन्। यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन्।
बजेटमार्फत अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन्।
पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ। अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन्।
अहिले सडकमा विद्युतीय गाडीको सङख्या उल्लेख्य रुपमा बढेको छ। सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो।
नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ।
बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन्। ईभीमा खासगरी चिनियाँ वर्चश्व छ। भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


