काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
यसअघि आजै बसेको गभर्नर सिफारिस समितिले उनलाई गभर्नर नियुक्त गर्न सिफारिस गरेको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे रहेको समितिले डा पौडेलसहित तीनलाई गभर्नर बनाउन सिफारिस गरेको थियो। त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदाशयता पाएका पौडेलले बाजी मारेका हुन्।
सत्तारुढ दल एमाले र कांग्रेसको लामो रस्साकस्सीपछि पौडेल गभर्नर बन्न सफल भएका हुन्। मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्न सहमति जुटाएका थिए। यसअघि नै पौडेललाई गभर्नर बनाउन देउवाले आग्रह गरेपनि ओलीले कांग्रेसलाई गलाएर आफ्नै दल एमालेनिकटका व्यक्तिलाई गभर्नर बनाउन चाहेका थिए।
को हुन् पौडेल?
गभर्नर बन्न सफल डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। डा पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा लिने गरिन्छ। गभर्नरमा नियुक्त भएका पौडेलको परराष्ट्रमन्त्रीमसेत रहेकी देउवापत्नी आरजु राणासँग पनि राम्रो सम्बन्ध छ।
यसअघि देउवा प्रधानमन्त्री भएका बेला २०७८ साल साउन १२ गते डा पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति रहेका डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा पौडेल आयोगको आर्थिक सल्लाहकार बनेर काम गरेको अनुभव पनि डा पौडेलसँग छ।
यसअघि उनै पौडेल गभर्नर सिफारिस समितिकै सदस्य बनेका थिए। तर उनी समितिमा रहेको अवधिमा एक पटक पनि गभर्नर सिफारिस समितिको बैठक बसेन। अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि सिफारिस समितिको बैठक नराखेपछि डा पौडेलले राजीनामा दिएर आफैँ गभर्नरको उम्मेदवार बनेका हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-१ बाट कांग्रेसका उम्मेदवार बनेका डा पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले फराकिलो मतान्तरले पराजित गरेका थिए। निर्वाचनमा पराजित भएपछि डा पौडेल काठमाडौं विश्वविद्यालय (केयू)को ‘स्कुल अफ म्यानेजमेन्ट’मा प्राध्यापन गर्न थाले। केयुको प्राध्यापक हुने बेलादेखि नै आफू कांग्रेसको सक्रिय राजनीतिबाट अलग बनेको उनले बताउने गरेका छन्।
डा. पौडेल विभिन्न विषयमा सञ्चारमाध्यममा गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित गर्दै आएका छन्। पौडेल नेपालको आर्थिक इतिहासबारे जानकार मानिन्छन्।
डा. पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए। उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन्।
सन् २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टर भएर उनले काम गरेका थिए। त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्।


