ढाका- इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ।
स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ।
Starlink’s high-speed, low-latency internet is now available in Bangladesh! 🛰️🇧🇩❤️ → https://t.co/Q0StscVtIP pic.twitter.com/J88dJC7rzR
— Starlink (@Starlink) May 20, 2025
बङ्गलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तैयबले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, स्टारलिङ्कले बङ्गलादेशमा औपचारिक रूपमा सेवा सुरु गरिसकेको पुष्टि गरेका छन्।
तैयबका अनुसार यो सेवा परम्परागत सेवाहरूको तुलनामा केही महँगो भए तापनि गुणस्तरीय, स्थायी तथा उच्च गतिको इन्टरनेटको विकल्पका रूपमा उपयोगी हुने विश्वास गरिएको छ।
यो सेवाले गैरसरकारी संस्था, स्वतन्त्र पेशाकर्मी, नवप्रवर्तनकर्ता तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वर्षभर अवरोधरहित इन्टरनेट सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
अन्तरिक्षसम्बन्धी इलन मस्कको कम्पनी स्पेस एक्सले सञ्चालन गर्ने स्टारलिंक भू–उपग्रहहरूको समूह हो, जुन उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड) सेवाका लागि गरिन्छ। पृथ्वीको सतहभन्दा ५ सय किलोमिटर माथि ‘लो अर्थ अर्बिट’ मा रहेर यी स्याटलाइटले विश्वभर उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सक्छन्।
पृथ्वीलाई निरन्तर परिक्रमा गरिरहने यी स्याटलाइटहरूले जमिनमा रहेको स्टारलिंकको डिभाइसहरूमा इन्टरनेट सिग्नल पठाउँछन् र ती डिभाइसहरूले ब्रोडब्यान्ड वा सेलुलर इन्टरनेट भएका र पुग्न नसक्ने क्षेत्रमा समेत कनेक्टिभिटी पुर्याउन मद्दत गर्छन्।
६० भन्दा धेरै देशमा विस्तार भइसकेको स्टारलिंक भारतमा भित्रिसकेको छ। यसले नेपालमा पनि यसले बजार विस्तारका लागि चासो देखाइरहेको छ। तर विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण औपचारिक रूपमा अघि बढ्न सकिरहेको छैन। यद्यपि सगरमाथा क्षेत्रमा आएका विदेशी पर्यटकले स्टारलिंक चल्न सक्ने उपकरणहरू त्यहीँका स्थानीयलाई उपहारका रूपमा दिएको सार्वजनिक भइसकेको छ।


