काठमाडौं–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ। परिषद्ले प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित ६ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए।
उनका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा १६० जना र तीन वर्षे डिप्लोमा÷प्रमाणपत्र तहमा ४ सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदै छ।
उनले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक ३ हजार ५ सय, यातायात खर्चबापत प्रतिवर्ष १ हजार ५ सय र पोसाक खर्चबापत प्रतिवर्ष २ हजार ५ सयसमेत उपलब्ध गराइनेछ। ८० विद्यार्थीलाई तीन वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दै छन्। डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उनले जानकारी दिए।
१८ महिने प्रि–डिप्लोमा एग्रिकल्चर, फरेस्ट्री, अटोमोबाइल इञ्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ। यस्तै, तीन वर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ, बालीविज्ञान), जियोमेटिक्स इञ्जिनियरिङ, बायोमेडिकल इञ्जिनियरिङ, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर) इञ्जिनियरिङ, रेफ्रिजिरेसन एन्ड एयरकन्डिसनिङ इञ्जिनियरिङ, मेडिसिनल एन्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ।
