ललितपुर- ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ। यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। कम्पनीले ओभरपास सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो। तर, सम्झौताअनुसार निर्धारित म्याद २०८० फागुन १२ मा सकिए पनि काम समयमा सम्पन्न हुन सकेन। त्यसपछि म्याद थप गर्दै २०८१ पुस ८ सम्म कायम गरिएको थियो। निर्धारित म्याद सकिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुस महिनादेखि हर्जाना तिराउँदै काम गराइरहेको छ।
ओभरपास निर्माण सम्पन्न भएपछि कलंकी–कोटेश्वर सडक खण्डतर्फका सवारीसाधन ओभरपासबाट गुड्नेछन् भने ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ जाने सवारीसाधनले ओभरपासको सडक खण्ड प्रयोग गर्नेछन्। यसले चक्रपथ अन्तर्गतको सातदोबाटो–कोटेश्वर सडक खण्ड र मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सुरक्षित, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यही जेठको अन्तिमसम्ममा त्यहाँ सवारी गुड्न थाल्ने बताएका छन्।
आइतबार मन्त्री दाहाल आफैं साइटमै गएर फ्लाइओभरको निरीक्षण गरे। त्यही बेला उनले भने, ‘अबको काम धेरै छैन, जेठ मसान्तमै गाडी चल्न थाल्छ।’ काम ढिलो हुनुको कारण पनि उनले बताए — प्राविधिक समस्या। तर अब भने ढुक्क साथ भनेका छन्, ‘अब ढिला हुँदैन।’
फ्लाइओभर खुल्ला भएपछि ग्वार्को आसपासको भीडभाड घट्नेछ भन्ने ठम्याइ मन्त्रीको छ। अहिले फ्लाइओभरको एक साइडमा कालोपत्रे भइसकेको छ, अर्काेतिर चाहिँ तयारी चरणमै छ। दुवै साइड कालोपत्रे सकिएपछि फ्लाइओभर ट्राफिकका लागि खुला गरिनेछ।
मन्त्री दाहालले ठूला योजनाहरू समयमा नसकिने समस्या बारम्बार आइरहने भन्दै त्यसको समाधानका लागि कानुन नै मिलाउने तयारी भइरहेको पनि बताए। विकासको काम ढिलो गर्नेलाई अब सजिलो नहुने चेतावनी पनि दिए। साथै, बर्षायाममा सडकमा अवरोध नहोस् भनेर सबै निकाय ‘हाइ अलर्ट’ मा बसिरहेको जानकारी पनि दिए।
सडक विभागले २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग इपिसी मोडलमा फ्लाइओभर बनाउन सम्झौता गरेको थियो। तर काम समयमा नसकिँदा पटक–पटक म्याद थपियो। अन्तिम म्याद २०७९ पुस ८ मा म्याद सकिए पनि काम पुरा भएन।
भिडियो


