काठमाडौँ- ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सिआरआर)ले संयुक्त रुपमा आयोजना गरेको उक्त सचेतना कार्यक्रममा महिलाको गर्भपतनको अधिकारलाई अपराधीकरण गर्नु नहुनेमा जोड दिइएको थियो।
संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार हो भन्ने कुराको सचेतना गरिएको थियो।
अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, सर्वोच्च अदालतको व्याख्या र अधिकारकर्मीहरुले गर्भपतनलाई अपराधका घेरामा राख्न नहुने बताइयो। महिलाको मानवअधिकारलाई सुरक्षित राख्न अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा सुधार गर्नुपर्ने एफडब्लुएलडीका सचिव लक्ष्मी पोखरेलले बताइन्। अनिच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने सचिव पोखरेलले बताइन्।
सहयात्रा वृत्तचित्रमार्फत् सहभागीलाई अहिलेको कानुनले गर्भपतनलाई अपराधिकरण गरेको दृश्य देखाइएको थियो। वर्तमान ऐनले नेपाली समाजमा पारेको प्रभावले कस्ता समस्या सिर्जना गरिएको छ भन्ने देखाइएको थियो।
यसैगरी कवि पुरुषोत्तम मिश्रले एउटी आमाको प्रश्न कवितामार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारका बारेमा चर्चा गरिएको थियो।
एफडब्लुएलीका अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भिजिविलिटी इम्प्याक्ट समूहले किशोरीहरुको चाहना, वर्तमान अवस्था र समाजले डोर्याउन खोजेको बाटोबारे गीत र नाटकमार्फत् सकारात्मक सन्देश दिइएको थियो । उनीहरुको प्रस्तुतिमा सन्देशको प्रभावकारिता देखिन्थ्यो।
यसैगरी शैली थिएटरका कलाकारले एउटा परिवारमा लापर्वाहीले कस्तो दुर्घटना निम्तियाउँछ भन्ने देखाइएको थियो। एफडब्लुएलीका अध्यक्ष गिता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिआरआरका प्रभाकर श्रेष्ठले गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।


