काठमाडौँ- उपाधि लक्ष्य राखेको नेपालले महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थानमा चित्त बुझायो। सेन्टर एसियामा दुई पटकको विजेता रहिसकेका नेपालले तेस्रो स्थानमा पाउनु भनेको अनपेक्षित भने रहेन।
भारत र काजकस्तानजस्ता अब्बल मानिएका टिमसमेत रहेकाले नेपालले नतिजामा चित्त बुझाएको छ। दुवै टिम फाइनलमा पुगेका छन्।
सेमीफाइनलमा हार खेपेपछि नेपालले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। र यो खेलमा नेपालले जित निकालेर तेस्रो स्थान पाएको हो। यद्यपि खेलमा नेपाली टिमका धेरै गल्ती देखिएका थिए।
‘के आज गल्तीहरुको खेल भन्न मिल्छ त?’
‘पहिलो हाफलाई लिएर चाहिँ त्यो भन्न मिल्यो। किनभने हामीले धेरै गल्ती गरेका थियौँ। खासगरी अट्याकमा धेरै गल्ती भएको हो,’ नेपाली टोलीका प्रशिक्षक यान डी ब्रान्टको जवाफ छ, ‘तर त्यसपछि हाम्रो टिममा सुधार भएको थियो। सर्भिस लगायतमा हामीले आवश्याक परिवर्तन गरेपछि त्यो समस्या समाधान भयो।’
पहिलो सेटमा उज्वेकिस्तानले लगातार ११ अंक बनाउँदासम्म नेपालले १० गल्ती गरेको थियो। अर्थात् उज्वेकिस्तानले आफैं अंक ल्याएको भन्दा नेपालले धेरै अंक दिएको थियो। त्यसपछि नेपालले टाइम आउट लियो।
टाइम आउटमा प्रशिक्षकले सबैलाई शान्त भएर खेल्न भने। ‘मैले क्वाइट भएर खेल्न भनेँ। कहिले यस्तो हुन्छ। मैले त्यहाँ टेक्निकको कुरा गरिनँ। मैले आत्मविश्वास मात्र गेन गराएको हो,’ उनले भने।
यद्यपि त्यो सेटमा नेपालले १३ भन्दा धेरै आफ्नै गल्तीले विपक्षीलाई अंक दियो र २५–२० को हार बेहोरेको थियो। यता दोस्रो सेटपछि उज्वेकिस्तानको टिम निकै दबाबमा खेलेको थियो।
नेपालले आज ३–१ को जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्दा पहिलो सेट हारेर लगातार तीन सेट जित्यो। नेपालले दोस्रो सेट १६–२५, १६ –२५ र १३ –२५ को जित निकालेको हो।
उज्वेकिस्तानका प्रशिक्षक खाजोभ अजतले पहेँलो कार्ड पाएका थिए। यद्यपि उनले खेलाडीलाई आवश्यक सञ्चारमा निकै आक्रोश व्यक्त गरिरहका थिए। ‘हामीले आजको खेलमा बेटर खेल देखाउन सक्ने थियौँ तर चोटको कारण खेल्न सकेनन्। अनि मैले भनेको कुरामा ध्यान दिएपछि उनीहरुले गल्ती गरेको देखिन्छ,’ उनले भने।
उज्वेकिस्तानका खेलाडी र प्रशिक्षकबीच तादम्यता नमिलेपछि खेलाडीहरु ‘फ्रस्टेटेड’ देखिएका थिए। यता, नेपालले त्यो प्रस्टेसनलाई निकै गज्जबसँग क्यास गरेको थियो। ‘हामीले त्यो बेलामा निकै राम्रो सर्भिस गर्यौँ। विपक्षीलाई खेल्न दिएनौँ,’ नेपाली टिमका प्रशिक्षक ब्रान्टले भने।
‘अरु प्रतियोगितामा खेलाडी धेरै बेञ्चमा बसेको देखिन्छ। तर हाम्रो त्यस्तो भएन। दबाबको खेलमा पनि सबै खेलाडीले अवसर पाएका छन्। उनीहरुले दबाबमा पनि कसरी खेल्ने भनेर सिकेका छन्,’ अरुणाले भनिन्।
यता पछिल्लो खेलमा विजेता भएको टिमले यो संस्कणमा कास्य पदकमा चित्त बुझाउनु परेको छ। ‘यो प्रतियोगितामा काजकस्तान र भारत निकै राम्रो थिए। मैले स्काटिङ गर्दा त्यो पाएँ उज्वेकिस्तान अलि कमको टिम रह्यो। हामीले त्यो अनुसारकै नतिजा पायौँ,’ नेपाली टिमका प्रशिक्षक ब्रान्टले भने।
नेपाली टिमकी कप्तान अरुणा शाहीले यो प्रतियोगितामा युवा खेलाडीले पनि निकै राम्रो प्रदर्शन गरेको बताएकी छन्। उनका अनुसार यो नयाँ पुस्ताको लागि अवसरको प्रतियोगिता रह्यो।
‘अरु प्रतियोगितामा खेलाडी धेरै बेञ्चमा बसेको देखिन्छ। तर हाम्रो त्यस्तो भएन। दबाबको खेलमा पनि सबै खेलाडीले अवसर पाएका छन्। उनीहरुले दबाबमा पनि कसरी खेल्ने भनेर सिकेका छन्,’ अरुणाले भनिन्।
आफूहरूभन्दा धेरै अनुभव भएको टिमसँग खेल्न पाएकाले खेल्न सक्ने आत्मविश्वास थपेको उनको भनाइ छ। आउने दिनमा प्रदर्शन गर्नका लागि सजिलो हुनेमा उनी आशावादी छन्।
अब तीन महिना पछि नेपालले एसियाली खेलकुद खेल्दैछ। सो प्रतियोगिताका लागि यो च्यालेन्ज कपले सहयोग गर्ने अरुणा बताउँछिन्।


