मुस्ताङ- प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन्। हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन्।
अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन्। लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।
प्राचीन सहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन्। मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको सङ्गमले पर्यटकलाई लोभ्याउँछ।
मुस्ताङका तालहरू निकै सुन्दर छन्। साथै यहाँका सङ्ग्रहालयले पनि आगन्तुकहरूलाई पर्याप्त जानकारी दिन्छन्।
मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरू खुलेका हुन्छन्। दिउँसो १२ बजेपछि भने बिस्तारै हावा चल्न थाल्छ र हिमालहरू तुवाँलोले ढाकिँदै जान्छन्। जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिँदै गएकोमा भने स्थानीयवासीको साथै पर्यटक पनि चिन्ता व्यक्त गर्ने गरेका छन्।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी


