काठमाडौँ- बेल्जियमका प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीको नयाँ प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई औपचारिक रूपमा स्वागत गरेको छ।
युएफा प्रो-लाइसेन्स प्राप्त डी वाइल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको रूपमा यो उनको पहिलो जिम्मेवारी हो।
उनको अनुभवमा अल्जेरिया र हंगेरी राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको भूमिका सम्हालेको र चीनको यू-२३ महिला टोलीमा पनि सहायक प्रशिक्षकको रूपमा काम गरेको समावेश छ।
नेपाली महिला टोली हालै थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्दै स्वदेश फर्किएको छ। अब डी वाइल्डको नेतृत्वमा नेपाल महिला टोलीले आगामी महिला एसियन कप छनोट खेल्ने तयारी गर्नेछ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले आफू चुनाती स्वीकार गरेर नेपाल आएको बताएका छन्। शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रममा वाईल्डले यस्तो बताएका हुन्।
उनको सम्झौता एक वर्षको रहेको एन्फा प्रवक्ता सुरेश शाहले बताए। ‘हामीले एक वर्षको सम्झौता गरेका छौं र त्यो हिजोदेखि लागू भएको छ,’ एसियाली कपलाई दृष्टिगत गरी आफूलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको उल्लेख गर्दै उनले भने, ‘यो ठूलो प्रतियोगिता हो र ठूलो चुनौती पनि छ।’
महिला टिमका प्रशिक्षक छनोट समितिका संयोजक हरि खड्काले प्याट्रिकको सिभी र उनको अनुभवका आधारमा छनोट गरिएको जनाए। ‘उहाँको ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर टेक्निटल टिमबाट छलफल गरी छनोट गरिएको हो,’ उनले भने, ‘आर्थिक पाटो पनि हेर्नुपर्छ, कति तिर्दा ठीक हुन्छ भनेर, त्यसकारण सबै आधारहरू हेरी उहाँलाई नियुक्त गरिएको हो।’


