काठमाडौँ– त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत मंगलबार भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई नेपालले २ विकेटले पराजित गरेको छ।
पहिले व्याटिङ गरेको स्कटल्यान्डको टिटउट रंगशालामा भएको खेलमा स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएकाे थियो। ९८ रनको लक्ष्यसहित खेलेको नेपालले ८ विकेटको क्षतिमा १९.५ बलमा पूरा गर्यो।
स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि नेपालले मंगलबार २ विकेटको जित निकालेको छ। सिरिजमा नेपालले पहिलो जित हात पारेको हो।
नेपालको ब्याटिङ लाइनले सोचे जस्तो भने खेल्न सकेन। प्रारम्भिक तहका ब्याटर लोकेश बम ९ रन र अनिल साह ३ रनमा आउट भएपछि नेपाललाई लडखडाउन सुरु गर्यो। कप्तान रोहित पौडेल ७ रनमै आउट भए। ओपनर कुशल भुर्तेल चौथो विकेटको रुपमा ३० रन जोडेर आउट भए। भुर्तेलले ३५ बल खेलेर ४ चौका प्रहार गर्न सके।
दीपेन्द्रसिंह ऐरीले १४ रन र बसिर अहमदले १३ रन बनाए। दुवैले चौका वा छक्का प्रहार गर्न भने सकेनन्। रुपेश सिंहलाई सातौं विकेटको रुपमा माइकल लिस्कले आउट गरे।
नेपाललाई अन्तिम ओभरमा जितका लागि चार रन चाहिएको थियो भने तीन विकेट बाँकी थियो। पहिलो बलमा करण केसीले एक रन लिन सफल भए। दोस्रो बलमा पनि किरण ठगुन्नाले एक रन नै लिए। तेस्रो बलमा पनि एक रन भयो। तर चौथो बलमा ठगुन्ना आउट हुन पुगे। जसका करण नेपाललाई अन्तिम दुई बलमा एक रन चाहियो। पाँचौ बलमा सन्दीप लामिछानेले १ रन लिँदै नेपाललाई जित दिलाए।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए।
केसीले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्। यसअघि सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए।
नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ।


